रेडियो सैनामैना

९१ मेगाहर्ज

Advertisement

बुटवलमा वैदेशिक शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल, रुपन्देही । रुपन्देहीको बुटवलस्थित आईडिया मेकर एजुकेशन कन्सल्टेन्सीको आयोजनामा वैदेशिक शिक्षा तथा करिअर सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा बुटवल बारटेन्डर इन्स्टिच्युटमा बारटेन्डिङ तथा हस्पिटालिटी सम्बन्धी विभिन्न तालिम लिइरहेका ५६ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई वैदेशिक अध्ययन, करिअर योजना तथा अन्तर्राष्ट्रिय रोजगारीका अवसर सम्बन्धी जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि स्टरलिङ कलेज अफ हस्पिटालिटीका निर्देशक धिरेन राकशले हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित सीपले स्वदेश तथा विदेश दुवै ठाउँमा उत्कृष्ट करिअर निर्माण गर्न सकिने बताउनुभयो। उहाँले सीपमूलक शिक्षाले स्वरोजगार तथा उद्यमशीलता विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि तथा बुटवल बारटेन्डर इन्स्टिच्युटका कार्यकारी निर्देशक टोम गुरुङले अन्तर्राष्ट्रिय अनुभव हासिल गरी स्वदेश फर्किएपछि पर्यटन प्रवर्द्धन र गुणस्तरीय सेवामार्फत देशको आर्थिक विकासमा योगदान पुर्‍याउन सकिने उल्लेख गर्नुभयो। साथै, विद्यार्थीहरूका लागि यस्ता उपयोगी अभिमुखीकरण कार्यक्रम आयोजना गरेकोमा उहाँले आईडिया मेकर एजुकेशन कन्सल्टेन्सीप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रमका सभाध्यक्ष तथा आईडिया मेकर एजुकेशन कन्सल्टेन्सीका कार्यकारी निर्देशक बिसाल बोहराले वैदेशिक अध्ययन, करिअर योजना तथा अन्तर्राष्ट्रिय रोजगारीका अवसर, आवश्यक तयारी र विद्यार्थीले ध्यान दिनुपर्ने विषयहरूबारे विस्तृत जानकारी गराउनुभएको थियो।

कार्यक्रमको सञ्चालन संस्थाका परामर्शदाता मिलन तरामुले गर्नुभएको थियो। सहभागी विद्यार्थीहरूले कार्यक्रमलाई जानकारीमूलक, उपयोगी तथा प्रेरणादायी रहेको प्रतिक्रिया दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *