रेडियो सैनामैना

९१ मेगाहर्ज

Advertisement

झेगामारामा सडक नाटकमार्फत बालविवाह तथा बालश्रम न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

तिनाउ, पाल्पा । तिनाउ गाउँपालिका वडा नं. १ झेगामारामा बालविवाह तथा बालश्रम न्यूनीकरण सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सडक नाटक कार्यक्रम सम्पन्न गरिएको छ। तिनाउ गाउँपालिकाको आयोजना तथा राष्ट्रिय कलाकारहरूको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रम श्री सरस्वती आधारभूत विद्यालय, झेगामारामा सम्पन्न भएको हो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भागिरथी सुस्लिङ, प्रधानाध्यापक प्रमोद के.सी. तथा तिनाउ गाउँपालिका वडा नं. १ का वडा सदस्य यमबहादुर घर्ती मगरको आतिथ्यतामा सम्पन्न भएको थियो।

सचेतनामूलक कार्यक्रममा राष्ट्रिय कलाकार सुरवीर पण्डित (दाह्री बा), बिमली लगायतका कलाकारहरूले बालविवाह, बालश्रम तथा यसबाट बालबालिकाको भविष्यमा पर्ने नकारात्मक प्रभावलाई समेटेर मनोरञ्जनात्मक तथा सन्देशमूलक प्रस्तुति दिएका थिए। कलाकारहरूको जीवन्त अभिनयले कार्यक्रममा उपस्थित विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दाको ध्यान आकर्षित गरेको थियो।

कार्यक्रममा बोल्दै वडा सदस्य यमबहादुर घर्ती मगरले गाउँपालिकाले बालविवाह, बालश्रम, लैङ्गिक हिंसा तथा अन्य सामाजिक विकृतिविरुद्ध जनचेतना फैलाउने उद्देश्यले गाउँ–गाउँमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले सामाजिक रूपान्तरणका लागि समुदायस्तरमा जनचेतना अभिवृद्धि अत्यन्त आवश्यक रहेको बताउनुभयो।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा समाजसेवी अम्मर तरामुले यस्ता जनचेतनामूलक कार्यक्रमले विशेषगरी ग्रामीण क्षेत्रका विद्यार्थी, अभिभावक तथा सर्वसाधारण नागरिकलाई बालविवाह र बालश्रमजस्ता सामाजिक समस्याबारे जानकारी प्राप्त गर्न तथा तिनको न्यूनीकरणमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्ने बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले सामाजिक परिवर्तनका लागि सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा ठुली उडाङ र झेगामाराका स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। स्थानीय नागरिकलाई सहज पहुँच हुने गरी विद्यालय परिसरमा कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

तिनाउ गाउँपालिकाले बालअधिकार संरक्षण, बालविवाह तथा बालश्रम न्यूनीकरण, शिक्षा प्रवर्द्धन र सामाजिक जागरणका क्षेत्रमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ। स्थानीयवासीले यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्ने सुझाव दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *