पाल्पा, तिनाउ। तिनाउ गाउँपालिका–१, झिंगामारास्थित रामपाता वन कार्यालय परिसरमा स्थानीयवासीहरूको सक्रिय सहभागितामा सामुदायिक पार्क निर्माण अभियान उत्साहजनक रूपमा अघि बढिरहेको छ। प्रत्येक शनिबार सञ्चालन हुने श्रमदान कार्यक्रममा गाउँलेहरूको उल्लेखनीय सहभागिता रहँदै आएको छ भने विदेशमा रहेका झिंगामारावासीहरूले समेत आर्थिक सहयोग गर्दै अभियानलाई थप सशक्त बनाइरहेका छन्।
हालसम्म पार्क क्षेत्रमा करिब २५० वटा फूलका बिरुवा रोपिएका छन्। साथै, पर्यटकहरूलाई सहज र आकर्षक अनुभव प्रदान गर्ने उद्देश्यले वाकिङ ट्रेल निर्माण, हरियाली व्यवस्थापन, वृक्षारोपण तथा पूर्वनिर्धारित संरचनाअनुसार आवश्यक पूर्वाधार विकासको काम पनि तीव्र गतिमा भइरहेको छ।
झिंगामारामा पछिल्लो समय विभिन्न देशबाट बौद्ध भिक्षुहरूको आगमन बढ्दै गएको छ। साथै, प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र शान्त वातावरणका कारण आन्तरिक पर्यटकहरूको आकर्षण समेत निरन्तर बढिरहेको छ। निर्माणाधीन सामुदायिक पार्क सम्पन्न भएपछि यस क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्व अझ बढ्ने अपेक्षा गरिएको छ।
स्थानीयवासीहरूले यो अभियानलाई केवल पार्क निर्माणमा सीमित नराखी सामुदायिक एकता, वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनसँग जोडिएको नमुना अभियानका रूपमा अघि बढाइरहेका छन्।
हाल पार्क निर्माण अभियानको नेतृत्व स्थानीय युवा मिलन तरामुले गरिरहेका छन्। उनका अनुसार भौतिक पूर्वाधारका हिसाबले विकसित छिमेकी पालिका सैनामैना र बुटवलसँग नजिकै रहेको तथा उच्च पर्यटकीय सम्भावना बोकेको झिंगामारा लामो समयदेखि सरकारी प्राथमिकताबाट ओझेलमा परेको छ। यही कारण स्थानीयवासीहरू आफैं अग्रसर भई आफ्नै श्रम, स्रोत र सहयोगबाट पर्यटकीय पूर्वाधार निर्माणको थालनी गरेका हुन्।
तरामु भन्छन्,
“सरकारको प्रतीक्षा गरेर मात्र सम्भावनाहरूको विकास हुँदैन। झिंगामारामा पर्यटनको ठूलो सम्भावना छ। त्यसैले स्थानीयवासीहरू आफैं जुटेर सामुदायिक पार्क निर्माण सुरु गरेका छौं। हाम्रो उद्देश्य झिंगामारालाई धार्मिक, प्राकृतिक र पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नुका साथै भावी पुस्ताका लागि आकर्षक र व्यवस्थित सार्वजनिक स्थल निर्माण गर्नु हो।”
स्थानीयहरूको साझा प्रयासबाट अघि बढिरहेको यो अभियानले झिंगामारालाई भविष्यमा आन्तरीक तथा बाह्य पर्यटकहरु धार्मिक पर्यटन, प्रकृति पर्यटन तथा सामुदायिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास लिइएको छ।











Leave a Reply