रेडियो सैनामैना

९१ मेगाहर्ज

Advertisement

लुम्बिनी सिटी कलेजमा अन्तिम सेमेस्टरका विद्यार्थीहरूलाई भव्य बिदाइ कार्यक्रम सम्पन्न

लुम्बिनी सिटी कलेजमा अन्तिम सेमेस्टरका विद्यार्थीहरूलाई भव्य बिदाइ कार्यक्रम सम्पन्न
लुम्बिनी सिटी कलेजमा अध्ययनरत B.Sc. CSIT, BITM तथा BCA कार्यक्रमअन्तर्गतका अन्तिम सेमेस्टरका विद्यार्थीहरूलाई सम्मानपूर्वक बिदाइ गर्ने उद्देश्यले विशेष बिदाइ कार्यक्रम मंसिर २९ गते, सोमबार, बुटवलस्थित अमरपाली कुटज एन्ड रेस्टुरेन्ट प्रा.लि. मा भव्य रूपमा सम्पन्न भएको छ। उक्त बिदाइ कार्यक्रम ७औँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको सक्रिय पहल र व्यवस्थापनमा आयोजना गरिएको हो, जसले वरिष्ठ विद्यार्थीबीचको आपसी सद्भाव, सम्मान र सहकार्यलाई अझ मजबुत बनाएको देखिन्थ्यो।
कार्यक्रमको अध्यक्षता BCA सातौँ सेमेस्टरका कक्षा प्रतिनिधि मञ्जिश उपाध्याय ले गर्नुभएको थियो। अध्यक्षीय मन्तव्यमा उहाँले B.Sc. CSIT, BITM तथा BCA अन्तिम सेमेस्टरका वरिष्ठ विद्यार्थीहरूलाई आईटी क्षेत्रभित्र उज्ज्वल भविष्यको कामना गर्दै कलेजबाट हासिल गरेको ज्ञान, सीप र अनुभवलाई व्यवहारिक जीवनमा प्रभावकारी रूपमा प्रयोग गर्न आग्रह गर्नुभयो। उहाँले वरिष्ठ विद्यार्थीहरू कलेजका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै उनीहरूको सफलताले आगामी पुस्तालाई मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी सिटी कलेजका अध्यक्ष प्रो. डा. गणेश प्रसाद पाठक ले विद्यार्थीहरूको जीवनको अर्को महत्वपूर्ण खुड्किलो सुरु भएको बताउँदै अबको यात्रा व्यक्तिगत प्रतिस्पर्धामात्र नभई टिमवर्क, लिडरशिप र कोलाबोरेटिभ वर्क को माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले आईटी क्षेत्र निरन्तर विकसित भइरहेकाले नवीन सोच, अनुसन्धान र सामूहिक प्रयास नै भविष्यमा सफल बन्ने मुख्य आधार हुने धारणा राख्नुभयो।
त्यसैगरी कलेजका ए. क्याम्पस चिफ नारायण प्रसाद भुसाल ले विद्यार्थीहरूलाई आफ्नो आईटी सीपलाई अझ परिष्कृत गर्दै केवल रोजगारी खोज्ने मानसिकताभन्दा बाहिर निस्केर उद्यमशीलता, स्टार्टअप र इनोभेसन तर्फ आकर्षित हुन सुझाव दिनुभयो। नेपालमै रहेर पनि आईटी क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै कलेजले प्लेसमेन्ट, इन्डस्ट्रियल एक्सपोजर, करियर गाइडलाइन तथा आवश्यक सहयोगमा सदैव साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा अन्तिम सेमेस्टरका विद्यार्थीहरूले कलेज जीवनका संघर्ष, सिकाइ र अविस्मरणीय क्षणहरू भावुक ढंगले साझा गरेका थिए। कनिष्ठ विद्यार्थीहरूद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रम, गीत, नृत्य तथा रमाइला प्रस्तुतिहरूले कार्यक्रमलाई थप जीवन्त, आकर्षक र स्मरणीय बनाएको थियो।
कार्यक्रमको सफल सञ्चालन उद्घोषक सुमित खनाल ले गर्नुभएको थियो। अन्त्यमा उत्कृष्ट तथा अनुकरणीय विद्यार्थीहरूलाई सम्मान प्रदान गर्दै सम्पूर्ण बिदाइ हुने विद्यार्थीहरूको सफल करियर, सकारात्मक सोच र उज्ज्वल भविष्यको कामना सहित कार्यक्रम समापन गरिएको थियो।यस प्रकारको कार्यक्रमले शैक्षिक संस्थाभित्रको पारिवारिक भावना, नेतृत्व विकास र विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको प्रतिक्रिया रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *