सैनामैना, असार २५ । पश्चिम नेपालको प्रसिद्ध धार्मिक स्थल तथा देशकै दोस्रो पशुपतिनाथका रूपमा परिचित पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा यसवर्ष पनि भव्य रूपमा श्रावणी मेला तथा बोलबम जलार्पण कार्यक्रम आयोजना गरिने भएको छ।
धार्मिक आस्थाको केन्द्र बनेको यो धाममा असार २६ गते गुरुपूर्णिमादेखि साउन २४ गते जनैपूर्णिमासम्म श्रद्धालुहरूको बाक्लो उपस्थितिमा श्रावणी मेला सञ्चालन गरिनेछ। नेपाल र भारतका हजारौं भक्तजनहरू शिवलिङ्गमा जल चढाउन पर्रोहा पुग्ने परम्परा यसपालि झनै भव्य रूपमा दोहोरिने तयारी रहेको आयोजकले जनाएको छ।
ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको यस धाममा शिवभक्तहरूले कपिलवस्तुको लक्ष्मणघाट, रुपन्देहीको रामघाट, तनहुँको देवघाट, नवलपरासीको त्रिवेणी, पाल्पाको राम्दी, गुल्मीको रिडी, मुस्ताङ्गको मुक्तिनाथ, प्यूठानको स्वर्गद्वारी, काठमाडौंको सुन्दरीजल, पशुपतिनाथलगायत स्थानहरूबाट गंगाजल ल्याई शिवलिङ्गमा जलार्पण गर्ने परम्परा छ।
यो यात्रा धार्मिक मात्र नभई सांस्कृतिक एकता र राष्ट्रिय पहिचानको प्रतीक बन्दै गएको छ। “बोलबम१ बोलबम १ हर हर महादेव१” को नारा घन्काउँदै हजारौं भक्तजनहरुको समर्पण र आस्था सहित पर्रोहा बोलबम धाममा विविध धार्मिक सहित जालार्पण कार्यक्रम गरिने छ।
पर्रोहा बोलबम धाम मन्दिर व्यवस्थापन समितिका अनुसार एक महिनासम्म शिव महापुराण पाठ गरिनेछ। त्यसैगरी सात दिनसम्म नन्दी भगवानको प्राणप्रतिष्ठा, दैनिक आरती, भजनकृतन र महादेव नृत्यजस्ता धार्मिक र सांस्कृतिक कार्यक्रमहरू पनि समावेश गरिनेछन्।
धामका सल्लाहकार धर्मगुरु व्यासाचार्य किशोरकुमार गौतमले नेपाल तथा भारतका विभिन्न स्थानबाट तीर्थयात्री आउने अपेक्षा गरिएको बताउनुभयो। सल्लाहकार पण्डित विष्णु ज्ञवालीका अनुसार यो मेला धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको बताउनु भयो।
धामका अध्यक्ष चित्रबहादुर कार्कीले मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनु भयो ।
यात्रुहरूको सुरक्षादेखि शुद्ध खानेपानी, स्वास्थ्य चेकजाँच, यातायात तथा पार्किङ व्यवस्थापनसम्मका तयारीहरू तीव्र परिएको बताउनु भयो ।
यसैबीच हालै मन्दिर व्यवस्थापन समितिमा मनोनित २१ जना सल्लाहकारहरूले सपथ ग्रहण गरेका छन्। एक कार्यक्रमका विच धामका अध्यक्ष चित्र बहादुर कार्कीले २१ जना मनोनित सल्लाहकारहरुलाई मंगलबार सपथ ग्रहण गराउनुभएको हो ।






Leave a Reply