सामुदायिक विद्यालयहरू शिक्षाको मेरुदण्ड मानिन्छन्। देशका गाउँदेखि सहरसम्म फैलिएका यी विद्यालयहरू लामो समयदेखि सुलभ र सबैका लागि समान शैक्षिक अवसर उपलब्ध गराउने मुख्य स्रोतका रूपमा रहेका छन्। यद्यपि विगतमा निजी विद्यालयको तुलनामा कमजोर नतिजाका कारण आलोचना हुने गरेका सामुदायिक विद्यालयहरू पछिल्ला वर्षहरूमा क्रमशः रूपान्तरणको दिशामा अग्रसर भइरहेका छन्। स्थानीय सरकार, शिक्षक, अभिभावक र विद्यार्थीको समर्पणले गर्दा अहिले सामुदायिक विद्यालयहरू पनि प्रतिस्पर्धी नतिजा ल्याउन सक्ने प्रमाणित गर्दैछन्।
यही सन्दर्भमा, रुपन्देहीको सैनामैना नगरपालिका–१ मा अवस्थित सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले यसपटकको एसईई परीक्षामा गौरवपूर्ण सफलता हात पारेको छ। उक्त विद्यालयबाट परीक्षामा सहभागी १८९ विद्यार्थीमध्ये १७८ जना उत्तीर्ण भएका छन् भने ११ जना अनुत्तीर्ण भएका छन्। विशेष रूपमा, चार जना विद्यार्थीले पूर्ण ४ जिपिए ल्याएर विद्यालयको नाम सामुदायिक शिक्षामा शिखरतर्फ उचालेका छन्।
यो सफलता समग्र सामुदायिक शिक्षा क्षेत्रका लागि पनि प्रेरणादायक बनेको छ। सामुदायिक तहमा परमेश्वर नमुना मावि रुपन्देही जिल्लामा तेस्रो स्थानमा रहेको छ यद्यपि नगरमा भने ४ जिपिए ल्याउने पहिलो विद्यालयको रूपमा अग्रस्थानमा छ।
अन्य सामुदायिक विद्यालयहरूमध्ये जनकल्याण माध्यमिक विद्यालयबाट १ जना र रामापुर माध्यमिक विद्यालयबाट १ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन्।
सही दिशा, दृढ संकल्प र समन्वययुक्त प्रयास भएमा सामुदायिक विद्यालयहरू पनि उत्कृष्टताको उदाहरण बन्न सक्छन् भन्ने कुरा यस वर्ष सैनामैना नगरपालिकाका विद्यार्थीहरुको एसईई नतिजाले पुष्टि गरेको छ ।











Leave a Reply